मनाङ र आर्मी लगातार दोस्रोपटक फाइनलमा भिड्ने पक्का

म्यान अफ द म्याच अवार्ड ग्रहण गर्दै हेमन गुरुङ्ग । (तस्विर गोलनेपाल डटकम)

काकरभिट्टा (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो मेची नेत्रालय काकरभिट्टा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङले आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सडेन डेथमा हराउँदै आर्मीसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

दुवै टोली १० खेलाडीमा सिमित हुन पुगेको बुधबारको खेलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुँगिएको थियो । खेलमा आयोजकका खामिर गिल्सन कान्दङ्वा र मनाङका सुजल श्रेष्ठले रातो कार्डको सामना गरेका थिए ।

खेलमा मनाङका हेमन गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल शुक्रबार मनाङ र आर्मीबीच हुने आयोजकले जनाएको छ । भर्खरै भिलझिलेमा सम्पन्न सताक्षी गोल्डकपमा पनि आर्मी र मनाङ फाइनलमा भिडेका थिए । जसमा आर्मीले उपाधि जित्न सफल भएको थियो ।

काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भन् उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...