
(तस्विर गोलनेपाल डटकम)
काकरभिट्टा (खेलदैनिक) । प्रतियोगिताको दावेदार मनाङ मस्र्याङ्दी क्लब तेस्रो मेची नेत्रालय काकरभिट्टा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न क्वाटरफाइनलमा अग्नी रुपन्देहीलाई सडेन डेथमा हराउँदै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । रुपन्देहीविरुद्ध मनाङको यो लगातार दोस्रो जित थियो । यसअघि भिलझिलेमा सम्पन्न सताक्षी गोल्डकपमा पनि मनाङले रुपन्देहीलाई टाइब्रेकरमा हराएको थियो ।
निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनु परेको थियो । शनिबारको खेलमा मनाङका गोलरक्षक दिनेश थापा मगर म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत आइतबारको क्वाटरफाइनल खेल सुदुरपश्चिम ११ र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।
काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भन् उपविजेताले ४ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल मंसिर १५ गते हुनेछ ।