डिफेन्डिङ च्याम्पियन करियरको विजयी सुरुआत

फेका कप अन्तरविद्यालय फुटबलमा करियर (रातो) र हाइल्यान्डका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन करियर इन्टरनेसनल बिल्डिङ एकेडेमीले १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा करियरले हाइल्यान्डलाई २–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि सविन कोइराला र जीवन लामाले १–१ गोल गरे । हाइल्यान्डका रविन खड्का ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा भएको मार्च पास्ट प्रतिस्पर्धामा गोठाटार पहिलो, एक्लब्य दोश्रो र गेट्वे एकेडेमी तेश्रो भए ।

प्रतियोगितामा फेकामा आबद्ध विभिन्न २७ विद्यालय मध्ये २० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो हुने टिमले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । फाइनल मंसिर १६ गते हुनेछ ।

कार्यक्रममा फेकाका अध्यक्ष नवराज भट्टले विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्देश्यसाथ फेकाले वर्षमा २० देखि २५ सम्म अत्तिरिक्त कृयाकलाप गर्ने गरेको बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...