अग्नी रुपन्देहीसँग एपीएफ स्तब्ध

म्यान अफ द म्याचको पुरस्कार ग्रहण गर्दै रुपन्देहीका गोलरक्षक तथा कप्तान दिलीप क्षेत्री (बाँयाबाट दोस्रो) । (तस्विर गोलनेपाल डटकम)

काकरभिट्टा (खेलदैनिक) । अग्नी रुपन्देही ११ तेस्रो मेची नेत्रालय काकरभिट्टा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १ का विरुद्ध ३ गोलले हराउँदै रुपन्देही अन्तिम आठमा प्रवेश गर्न सफल भयो ।

काकरभिट्टा स्कुलको खेलमैदानमा सम्पन्न खेलमा रुपन्देहीका लागि १५ औं मिनटमा रजिन धिमालले पहिलो गोल गरे भने लगतै १८ औं मिनटमा सेडरिक आवाले गोल गर्दै रुपन्देहीको अग्रता दोब्बर पारे ।

उता खेलको ६० औं मिनटमा सुदिप सिख्राकारले एपीएफका लागि एक गोल फर्काए, यद्यपि ८० औं मिनटमा रुपन्देहीका लागि दिपक राईले तेस्रो गोल गर्दै टोलीलाई उत्कृष्ट जित दिलाए ।

खेलमा रुपन्देहीका भेट्रान गोलरक्षक दिलीप क्षेत्री म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल सुदुरपश्चिम ११ र रमपम झापा ११ बीच हुने आयोजकले जनाएको छ ।

काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भन् उपविजेताले ४ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल मंसिर १५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...