रोमाञ्चक जितका साथ आर्मी सेमिफाइनलमा

(तस्विर गोलनेपाल डटकम)

झिलझिले (खेलदैनिक) । खेलमा उत्कृष्ट पूर्नआगमन जनाउँदै नेपाल आर्मी क्लब दोस्रो सताक्षी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न रोमाञ्चक क्वाटरफाइनलमा एपीएफलाई ३–२ गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा एपीएफले पराजय बेहोर्न पुग्यो ।

खेलको २५ औं मिनटमा अन्जन बिष्टको गोलबाट अग्रता लिएको एपीएफले त्यसलाई धेरैबेर जोगाउन सकेन । खेलको ३२ औं मिनटमा जर्ज प्रिन्स कार्कीले आर्मीका लागि बराबरी गोल फर्काए ।

लगतै श्याम नेपालीले ३८ औं मिनटमा गोल गर्दै एपीएफलाई दोस्रो पटक अग्रता दिलाए तापनि त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम रह्यो ।

खेलको ५५ औं मिनटमा सुमन अर्यालले आर्मीका लागि दोस्रो बराबरी गोल फर्काए । त्यस्तै ६६ औं मिनटमा दिप लामाले आर्मीका लागि तेस्रो तथा निर्णायक गोल गर्दै आर्मीलाई रोमाञ्चक जित दिलाए । खेलमा आर्मीका जर्ज प्रिन्स कार्की म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबारको क्वाटरफाइनल खेल अग्नी रुपन्देही ११ र मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

सताक्षीधाम स्र्पोटिङ्ग क्लब, झिलभिले झापाको आयोजनामा जारी प्रतियोगिताको फाइनल आउँदो मंसिर ७ गते हुनेछ ।त्यसैगरी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...