
संकटा (रातौ) र पुलिसका खेलाडी बलका लागि भिड्दै ।
काठमाडौं (खेलदैनिक) । संकटा क्लब ब्राइट युथ क्लव, चन्दागिरी, नैकापको आयोजनामा जारी प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई शून्यकाविरुद्ध २ गोलले हराउँदै संकटा अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
संकटाको जितमा फ्लोरेन्स र मार्टिनले १–१ गोल गरे । बिहीबारको खेलमा संकटाका फ्लोरेन्स म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत मंसिर १ गते शुक्रबारको खेल हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार नगदका साथ ट्रफी पाउने छ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।
प्रतियोगिता भरिको बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।