फिलिपिन्सविरुद्ध खेल्न नपाएका जगजित भन्छन् “मलाई पछुतो छैन”

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य जगजित श्रेष्ठले आफूलाई फिलिपिन्सविरुद्ध मैदानमा नउतार्ने प्रशिक्षकको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

अष्ट्रेलियामा व्यवसायीक फुटबल खेलिरहेका जगजित एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अनुरोधमा राष्ट्रिय टोलीमा सामेल हुन अष्ट्रेलियाबाट नेपाल आएका थिए ।

यद्यपि फिलिपिन्सविरुद्धको खेल अघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतुकु कोजीले सबैलाई आश्चर्यमा पार्दै जगजितलाई आफूले नबोलाएको भन्दै स्पष्टोक्ति दिएका थिए ।

तर पनि फिलिपिन्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीमा जगजितको नाम पनि सामेल थियो । तर उनी मंगलबार फिलिपिन्सविरुद्ध मैदानमा उत्रिन भने पाएनन् ।

यसबारे सोधिएको प्रश्नमा जगजितले राष्ट्रिय टोलीका लागि नेपाल आएकोमा आफूलाई कुनै पछुतो नरहेको बताए । उनले भने “मलाई नेपाल आएर कुनै पछुतो छैन । फिलिपिन्स विरुद्ध मैदानमा उत्रिने अवसर नपाए तापनि म प्रशिक्षकको निर्णयलाई सम्मान गर्छु ।”

यद्यपि उनले आफू मैदानमा उत्रिन चाहेको समेत बताए । जगजित भन्छन् “मैले मैदानमा केही गर्न सक्छु कि भन्ने सोंचेको थिएँ । तर केही छैन, यो सबै प्रशिक्षकमा भर पर्ने कुरा हो ।”

उनले फेरि अष्ट्रेलिया फर्किएर उतैको क्लबहरुबाट राम्रो अवसर आए फुटबललाई निरन्तरता दिने बताए । जगजित शुक्रबार अष्ट्रेलिया फर्कदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...