सताक्षी गोल्डकप शुरु, झापाको विजयी शुरुवात

झिलझिले (खेलदैनिक) । मंगलबारदेखि शुरु दोस्रो सताक्षी गोल्डकपमा दावेदार झापाले शानदार जितको साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

उद्घाटन खेलमा मंगलबार विपक्षी पोखरा ११ लाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।

खेलको सुरुवातदेखि नै आक्रामक प्रस्तुत भएको झापाका लागि मार्टिन्सले खेलको १२ औं मिनटमा पहिलो गोल गरे । मार्टिन्सको प्रहारमा पोखराका लक्ष्मण जीसीको डिप्mलेक्ट रहे पनि गोल हुनबाट बचाउन सकेनन् ।

लगभग एक पक्षीय खेलमा कर्ण लिम्बूले खेलको १७ मिनेटमा अर्को गोल गरे । योगेश गुरुङको एरियल पासमा पोखराका गोलकिपर दीप कार्की अगाडि बढेको मौकामा कर्णले सिधै गोलपोस्टको दिशा दिएका हुन् ।

झापाका पूर्व मिडफिल्डर तथा भर्खरै ए लेभेल कोचमा सफलता पाएका प्रवेश कटुवालको ‘उत्कृष्ट योजनामा’ खेलेका झापाली खेलाडीले एकपछि अर्को गोल गर्दै ५ गोल गरेका हुन् ।

खेलको १९ औँ मिनेटमा विशाल राईले झापाका लागि तेस्रो गोल गरे । कप्तान योगेश गुरुङको एसिस्टमा उनले गोल गरेका हुन् ।

पोखराका खेलाडीले खेलको २७ औँ मिनेटमा गोलको अवसर खेर फाले । पोखराका सुसान्त गुरुङले गोलको अवसर सिर्जना गरे पनि झापाका पिटर सेगुनले बल क्लियर गरिदिएका थिए ।

झापाली गोलकिपर किशोर गिरीको मिस पासको फाइदा उठाउँदै पोखराका सुसिल लामाले गोलपोस्टमा आक्रमण गरेका थिए । तर, उनी सफल हुन सकेनन् ।

पहिलो हाफमै ३ गोलको अग्रता लिएको झापाले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । दोस्रो हाफमा पाएको करिब आधा दर्जन गोलको अवसर झापाले सदुपयोग गर्न सकेन । कर्ण लिम्बू पनि ह्याट्रिक गर्न चुके ।

यसैबीच झापाका खमिर गिल्सन कन्दङ्वाले सम्झनलायक गोल गरे । करिब २५ यार्डबाट प्रहार गरेको उनको प्रहार विपक्षी गोलकिपर दीप कार्कीले ठम्याउन नपाउँदै बलले जाली चुमेको थियो ।

खेलको ७८ औँ मिनेटमा पोखराले पेनाल्टीको अवसर पायो । तर, कप्तान विष्णु गुरुङले गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट बाहिरिएको थियो । फेरि खेलको ७२ औँ मिनेटमा कर्णले आकर्षक गोल गर्दै गोल अन्तर फराकिलो बनाए ।

झापाले गरेको पाँच गोलमध्ये तीन गोलको अवसर सिर्जना गरेका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
उनलाई महालक्ष्मी प्रालि आइटेल टेक्नो मोबाइल कम्पनीको तर्फबाट नगद १० हजार झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले प्रदान गरे ।

बुधबारको खेल पाहुना टिम भारतको डाइमण्ड अफ एकेडेमी मध्यप्रदेश र विभागीय टिम एपीएफबीच हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए ।

स्थानीय सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको खेलमा विजेताले पाँच लाख र उपविजेता टिमले दुई लाख ५० हजारसहित ट्रफी पाउनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...