फिलिपिन्सविरुद्ध कडा मेहनत गर्नुपर्ने कप्तान अनिलको भनाई

पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान अनिल गुरुङ्ग (बाँया) तथा प्रशिक्षक कोजी । (तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबल टोलीका कप्तान अनिल गुरुङ्गले फिलिपिन्स माथिल्लो वरियताको टोली रहेको र राम्रो नतिजा हासिल गर्न नेपालले कडा मेहनत गर्नुपर्ने बताएका छन् ।

एएफसी एसियन कप छनौट अन्तरगत मंगलबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा नेपाल र फिलिपिन्स भिड्दै छन् ।

सोही खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान अनिलले यो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कप्तान अनिलले भने “फिलिपिन्स बलियो टोली हो साथै माथिल्लो वरियताको टोली समेत हो ।”

नेपाली टोलीको राष्ट्रिय जर्सीमा अन्तिम खेल खेल्न गईरहेका यी पोखरेली फरवार्डले अगाडी भने “पक्कै पनि हामी निश्चित जितका लागि खेल्नेछौं । तर हामीलाई धेरै सुधार गर्नुपर्नेछ र विपक्षीविरुद्ध सकारात्मक नतिजा हासिल गर्न सक्दो मेहनतका साथ उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।”

उता पत्रकार सम्मेलनमा जगजित श्रेष्ठबारे सोधिएको प्रश्नमा नेपाली टोलीका प्रशिक्षक ग्योतुकु कोजीले जगजितलाई आफूलाई नबोलाएको स्पष्ट पारे ।

केही समय अघि प्रशिक्षक कोजीले जगजितले आफ्नो खेल क्षमतामा निकै सुधार ल्याएको बताएका थिए ।

उता जगजितले भने आफू एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बोलाएपछि राष्ट्रिय टोलीका लागि अष्ट्रेलियाबाट फर्किएको बताएका थिए ।

रोचक कुरा त जगजितलाई आफूले नबोलाएको बताए तापनि उनले भोली फिलिपिन्सविरुद्ध उनलाई मैदानमा उतार्नेछन् वा छैनन् त्यो भने भोली नै थाहा हुनेछ ।

नेपाल र फिलिपिन्सविरुद्धको खेल भोली मंगलबार नेपाली समय अनुसार दिनको २ बजे शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...