तेस्रो काँकरभिट्टा गोल्डकपको विजेतालाई ८ लाख

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।

काँकरभिट्टा (खेलदैनिक) । यसवर्ष उपाधि रकम तीन लाखले बृद्धि गर्दै मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको विजेताले ८ लाख रुपैयाँसहित ट्रफी पाउने भएको छ ।

गोल्डकपको तेस्रो संस्करणको विजेताले उक्त रकम पाउने भएको हो । आउँदो मङ्सिर ६ देखि १५ गतेसम्म हुने गोल्डकपको उपविजेताले नगद ४ लाख पाउनेछ ।

आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शुक्रबार मेची नेत्रालयको सभाहलामा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।

झापाको प्रतिष्ठित गोल्डकपको रुपमा रहेको यस प्रतियोगितामा भारतको एक टोली र ‘ए डिभिजनका’ नौ वटा टिमको सहभागिता रहने सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा आयोजक काँकरभिट्टासहित रमपम झापा–११, अग्नि रुपन्देही–११, मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब र भारत कलकत्ताको सुभाष चन्द्र ब्वाइज क्लबको सहभागिता रहेने बताइएको छ । गतवर्षको साविक विजेता रमपम झापा ११ हो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलाई पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ६३ लाख ९२ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ ।

पहिलो पुरस्कार मेची नेत्रालय काँकरभिट्टाले प्रायोजन गरेको हो भने दोस्रो पुरस्कार धाइजनका समाजसेवी नरेन्द्र मेचेले प्रदान गरेका हुन् ।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष तथा सल्लाहकार संयोजक शंकर थापा र सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतको संयुक्त अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’, मेची बस व्यवसायी संघका अध्यक्ष श्रीप्रसाद मैनाली, प्रायोजक मेची नेत्रालयका प्रबन्धक शरदचन्द्र प्रकाश राई, समाजसेवी नरेन्द्र मेचे, अठोट नेपालका अध्यक्ष नगेन्द्र गुरुङलगायतले गोल्डकपको सफलताको कामनासहित फुटबलको महत्व र विकासबारे धारणा राखेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...