चौथो माउण्ट स्टार कप शुरु,, भैरवको विजयी शुरुवात

बुटवल (खेलदैनिक) । माउण्ट स्टार युथ क्लब, बुटवलको आयोजनामा शुक्रबारदेखि चौथो माउण्ट स्टार कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उदघाट्न खेलमा भैरव स्पोर्टस् क्लब, नवलपरासीले युनाइटेड कपिलवस्तुुलाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

भैरवको जितमा जय गुरुङ्ग, राम थापा र कान्छा गुरुङ्गले १–१ गोल गरे । उता पराजित कपिलवस्तुका लागि श्याम सिंजाली र युवराज थापाले १–१ गोल गरे । जितसँगै भैरव प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलमा भैरवका राम थापा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको खेल जनज्योति युवा क्लब, डिङ्गरनगर र लिस्नु युवा क्लब, कोटिहवाबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद २ लाख ५ हजार हात पार्नेछन् भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही २५–२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

रुपन्देही जिल्ला भित्र र बाहिरका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...