धरानलाई हराउँदै युवा मिलन अन्तिम चारमा

पथरी (खेलदैनिक) । मोरङस्थित बयरबनमा जारी पुर्वाञ्चल स्तरीय दोस्रो बयरबन कप २०७४ फुटबल प्रतियोगितामा युवा मिलन क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न क्वाटरफाइनल खेलमा धरान–१३ लाई ५ का विरुद्ध ८ गोलको फराकिलो अन्तरले हराउँदै युवा मिलन अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

युवा मिलनको जितमा सुशिल राई एक्लैले ४ गोल गरे भने योगेश गुरुङ्गले २ गोल गरे । त्यसैगरी न्यूटन लाम्कादे र बुद्धिमान राईले १–१ गोल गरे ।

उता पराजित धरानका लागि सैलेन्द्र नेपालले ह्याट्रिक गरे भने रवि फुयाल र अशोक कटुवालले १–१ गोलको योगदान दिए । खेलमा युवा मिलनका सुशिल राई म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत कार्तिक १२ गते आइतबारको पहिलो सेमिफाइनल खेल उर्लाबारी ट्रेनिङ सेन्टर र धरान एफसी बिच हुने आयोजकले जनाएको छ ।

बयरबन युवा जमातको आयोजनामा सुरू प्रतियोगितामा कुल ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल आउँदो कार्तिक १५ गते हुनेछ ।

जनता आधारभुत बिध्यालय कानेपोखरी ४ बयरबनको खुल्ला खेल मैदानमा हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद ५० हजार हात पार्ने छन् भने उपविजेताले ३० हजार हात पार्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...