आयोजक डाँगीहाट एफसी (रातो) फाइनलमा

(तस्विर गोलनेपाल डटकम)

मोरङ (खेलदैनिक) । मोरङको बेलबारी १० भाउनेको खेल मैदानमा जारी दोस्रो डाँगीहाट गोल्डकप २०७४ मा आयोजक डाँगीहाट एफसी (रातो) फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा एपीएफ झापालाई १ का विरुद्ध २ गोलले हराउँदै आयोजक रातो फाइनलमा प्रवेश गरेको हो ।

आयोजकको जितमा खेलको ३२ औ मिनेटमा बिमल धर्तीमगरको पासमा दिपक राईले हेडद्वारा सुन्दर गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको ६७ औ मिनेटमा बिमलकै पासमा सुजल श्रेष्ठले गोल गर्दै आयोजक टोलीको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो गोल खाएको एक मिनट बित्न नपाउँदै खेलको ६८ औ मिनेटमा एपीएफका लागि बुद्धिमान राईले गोल फर्काए तापनि टोलीको हारलाई भने जोगाउन सकेनन् । खेलको म्यान अफ द म्याच आयोजकका दिपक राई घोषित भए ।

खेलमा आयोजकका रजिन धिमाल, दिपक राई र दिनेश राजबंशीले पहेंलो कार्ड पाए भने एपीएफका सुमिन आलेमगर र निशान लिम्बुले पहेंलो कार्ड पाए । त्यस्थै एपीएफका मेनेजर नारायरण थापालाई अनुशासन तोडेको भन्दै रेफ्री श्याम दनुवारले खेल मैदान बाहिर निकालेका थिए ।

प्रतियोगिता अन्तरगत सोमबारको दोस्रो सेमिफाईनल खेल आयोजक डाँगीहाट एफसी (निलो) र रारा धनकुटा बिच हुनेछ ।

नेपाल आईस बियर, बुद्घ एयर र दि रिवर ओबरसिजको प्रायोजनमा तथा डाँगीहाट युथ क्लवको आयोजनामा जारी गोल्डकप बिजेताले उपाधिससिहत नगद १ लाख ५१ हजार तथा उपबिजेताले नगद १ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...