एन्फा र थ्रीस्टारबीच सहमति पत्रमा हस्ताक्षर

काठमाडौं (खेलदैनिक) । थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिनेबारे अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

एन्फाको लापरवाहीका कारण थ्री स्टारले एएफसी कपमा सहभागिता जनाउन नपाएपछि क्लबले एन्फासँग क्षतिपूर्तिको माग गर्दै राष्ट्रिय खेलकुद परिषद् लगायत विभिन्न संघसंस्थामा निवेदन र उजुरी गरेको थियो ।

साथै क्लबले क्षतिपूर्ति नपाउँदासम्म कुनै पनि फुटबल प्रतियोगितामा सहभागिता नजनाउने घोषणा समेत गरेको थियो । क्लबको उक्त निर्णयसँगै नेपाली फुटबलको मेरुदण्ड मानिएको राष्ट्रिय लिग पनि प्रभावित हुन पुगेको थियो ।

उता राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा एन्फा र थ्रीस्टारको तर्फको सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा एन्फाको तर्फबाट एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र थ्रीस्टारको तर्फबाट क्लबका कार्यवाहक अध्यक्ष अरुणमान जोशीले हस्ताक्षर गरे ।

सहमति पत्र हस्ताक्षर कार्यक्रममा राखेपका सदस्य सचिव केशव कुमार विष्टको पनि उपस्थिति रहेको थियो ।

दुवै पक्षबाट हस्ताक्षरित सहमति पत्र ।

सहमति अनुसार एन्फाले थ्री स्टारलाई तीन किस्तामा यहि मंसिर १० गतेभित्र १ करोड ५० लाख क्षतिपूर्ति वापत दिनुपर्नेछ । साथै एन्फाले थ्री स्टारलाई ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पहल समेत गर्नेछ ।

यो सहमति पश्चात् थ्री स्टार क्लबले एन्फाको आयोजना र सहआयोजनामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउनेछ ।

साथै यी सबै कुराहरु एन्फाको विशेष साधारण सभाबाट अनुमोदन गरिने समेत सहमति पत्रमा उल्लेख छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...