चर्च ब्वायजलाई दुधे गोल्डकपको उपाधि

(तस्विर : गोलनेपाल डटकम)

झापा (खेलदैनिक) । चर्च ब्वायज युनाइटेडले प्रथम टुबोर्ग दुधे गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

उपाधि जित्ने क्रममा चर्च ब्वायजले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई सडेन डेथमा ८–७ ले पराजित गर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेलमा दोहोरो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा एपीएफ उपाधि जित्नबाट चुक्यो । नियमित समयतर्फ एपीएफका लागि सन्तोष श्रेष्ठ र हरि कार्कीले गोल गरे । त्यसैगरी चर्च ब्वायजका लागि बरसात गुरुङ र मार्टिन्सले गोल फर्काएका थिए ।

फाइनल खेलमा चर्च ब्वायजका छिरिङ गुरुङ म्यान अफ दि फाइनल घोषित भए । त्यस्तै चर्च ब्वायजका बरसात गुरुङ प्रतियोगिताभरि कै उत्कृष्ट खेलाडी घोषित भए ।

दुधे युवा क्लब, दुधे, झापाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता चर्च ब्वायजले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्यो भने उपविजेता एपीएफले १ लाख ५१ हजारमा चित्त बुझायो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...