झरना कप सुरु, सौभाग्यको विजयी सुरुवात

रुपन्देही (खेलदैनिक) । रुपन्देहीकै पुरानो फुटबल प्रतियोगिता मध्ये एक झरना कप नकआउट फुटबल प्रतियोगिताको ३१ औं संस्करण भदौ २२ गते बिहीबारदेखि शुरु भएको छ ।

कुञ्जलापुरस्थित उमा निमाविको खेलमैदानमा भएको प्रतियोगिताको उदघाटन खेलमा सौभाग्य युवा क्लबले विजयी सुरुवात गरेको छ । विजयी सुरुवात गर्ने क्रममा सौभाग्यले माछापुच्छ«े युवा क्लबलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्यो । यसअघि निर्धारित समयको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

प्रतियोगिता अन्तरगत भदौ २३ गते शुक्रबारको खेल योङ स्टार एफसी मडाहा र केरवानी स्पोर्टिङ क्लब, ढेकारबीच हुने आयोजक क्लबका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो ।

एक कार्यक्रमका बीच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले उदघाटन गर्नुभएको प्रतियोगिता आगामी असोज ६ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद १ लाख पचास हजार हात पार्नेछन् भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई १०–१० हजार हात पार्नेछन् ।

त्यसैगरी व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको आयोजक क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...