जापान जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

जापान जाने नेपाली फुटबल टोली बिदाई पछि सामूहिक तस्विर खिचाउँदै ।

काठमाडौं (खेलदैनिक) । जापान जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमकाबीच बिहीबार बिदाई गरेको छ ।

दश दिने भ्रमणका लागि नेपाली टोली शुक्रबार साँझ जापानतर्फ प्रस्थान गर्नेछ । जापान भ्रमणको व्यवस्था मिलाउन नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासले अहम भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक कोजीले आफू नेपाली टोलीको प्रशिक्षक भएदेखि नै नेपाली टोलीलाई जापानमा लगेर प्रशिक्षण गराउने चाहना पूरा हुन लागेकोमा खुसी व्यक्त गरे ।

जापान भ्रमणका क्रममा नेपाली टोलीले पाँच अभ्यासखेल खेल्नेछ । जसमध्ये चर्चित जापानी जे लिग क्लब गाम्बा ओसाकाको यु–२३ टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै त्यहाँको विश्वविद्यालयको टिम र स्थानीय क्लवसँग पनि खेल्नेछ ।

जापानमा नेपाली टोलीको व्यवस्थापन जापानी फुटबल महासंघले गर्नेछ । कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राखेपका सदस्य सचिव केशव कुमार बिष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, इन्द्रमान तुलाधर, धिरेन्द्र प्रधान लगायतका पदाधिकारीहरुको उपस्थिति समेत रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथिहरुले नेपाली टोलीलाई बधाई दिंदै अग्रिम जितको शुभकामना समेत दिएका थिए ।
एएफसी एसियन कप छनौट अन्तरगत भदौ २० गते सशस्त्र प्रहरीको हल्चोक मैदानमा ताजिकिस्तानविरुद्ध खेल्ने तयारीमा रहेको नेपाली टोली भदौ ६ गते नेपाल फर्कनेछ ।

यसअघि फिलिपिन्स र यमनसँग खेलेको नेपालले एक हार र एक बराबरीसहित दुई खेलमा १ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ ।

त्यस्तै ६ अंकसहित फिलिपिन्स पहिलो र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । समूहको शीर्ष दुई टीम एएफसी एशियन कपमा छनोट हुनेछन् ।

एएफसी छनौट चरण अन्तरगत नेपाल, फिलिपिन्स, यमन र ताजिकिस्तानसहित समूह एफ मा रहेको छ ।

नेपाली टोलीका मुख्य खेलाडीहरु रोहित चन्द र किरण चेम्जोङ विदेशमा व्यवसायिक लिग खेलिरहेकाले उनीहरु टोलीमा समावेश हुने छैनन् । त्यस्तै चोटिल आदित्य चौधरी र रजिन धिमाल हाल स्वास्थ्य लाभ गरिरहेकाले उनीहरु पनि नेपाली टोलीसँग जापान जाने छैनन् ।

जापान जाने २४ सदस्यीय नेपाली टोली यसप्रकार छन्:

गोलकिपर : बिकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने

डिफेन्डर : बिराज महर्जन, दिनेश राजवंशी, अनन्त तामाङ, बिमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, मान बहादुर तामाङ

मिडफिल्डर : बिक्रम लामा, हेमन गुरुङ, बिशाल राई, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल

फरवार्ड : अनिल गुरुङ, भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, सुमन लामा


प्रतिक्रिया दिनुहोस

Loading...