जनज्योति र शान्ति नमूना कोकाकोला च्याम्पियन

बुटवल (खेलदैनिक) । बुटवलमा सम्पन्न कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगिताको छात्रतर्फको उपाधि जनज्योति मा.वि.ले जितेको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न छात्रतर्फको प्रतिस्पर्धात्मक फाइनल खेलमा जनज्योतिले स्कलर्स होम एकेडेमीलाई टाईब्रेकरमा ६–५ ले पराजित गर्यो । यसअघि दुवै टोलीले निर्धारित समयको खेल गोलरहित बराबरी खेलेका थिए ।

विजेता जनज्योतिले उपाधिसहित नगद ३० हजार हात पारेको छ भने उपविजेता बनेको स्कलर्सले ट्रफीसहित नगद २० हजारमा चित्त बुझाएको छ । त्यस्तै सेमिफाइनलमा पराजित एपेक्स स्कुल र होराईजन जि.बि.एस.ले ५–५ हजार हात पारे ।

छात्रतर्फ फाइनल खेलेका जनज्योति र स्कलर्सले अब क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट डिफेन्डर जनज्योतिका पूर्ण बहादुर श्रेष्ठ घोषित भए भने उत्कृष्ट मिडफिल्डर पनि जनज्योति कै मिसन रास्कोटी घोषित भए । त्यस्तै उत्कृष्ट फरवार्ड स्कलर्स होमका आवेश शाही घोषित भए उदयीमान खेलाडी स्मृति बोर्डिङ स्कुलका अंकित थापा घोषित भए ।

शान्ती नमूनालाई छात्रातर्फको उपाधि

त्यसैगरी मंगलबार नै सम्पन्न छात्रातर्फको उपाधि श्री शान्ति नमूना मा.वि.ले जितेको छ । उपाधि जित्ने क्रममा शान्ति नमूनाले स्मृति बोर्डिङ स्कुललाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्यो ।

विजेता शान्ति नमूनाले उपाधि सहित नगद १० हजार हात पारेको छ भने उपविजेता स्मृतिले ट्रफीसहित ५ हजारमा चित्त बुझाएको छ ।

छात्रातर्फ विजेता बनेको शान्ति नमूनाले अब क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...