दोश्रो पाथीभरा गोल्डकपः नव प्रयास यूवा क्लब ताप्लेजुङ विजयी

देवराज गुरुङ, ताप्लेजुङ
साउन २४ गते ।

ताप्लेजुङमा जारी दोश्रो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज नवप्रयास यूवा क्लब ताप्लेजुङ विजयी भएको छ ।

ताप्लेजुङले पथरी स्र्पोटिङ क्लब मोरङलाई २–० गोलले पराजित गरेको हो ।खेलको ५४औं मिनेटमा ताप्लेजुङका रमेश लिम्बूले पेनाल्टीमार्फत गोल गरे । ८१औं मिनेटमा निराजन गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । डिबक्समा दिपेश आङवुहाङ लिम्बूलाई पथरीका गोलकिपर अजुर्न बस्नेतले ट्याकल गरेपछि पाएको पेनाल्टीलाई लिम्बुले गोलमा परिणत गरे । गोलकिपरको कमजोरीको फाइदा उठाउँदै गुरुङले चिफ बल प्रहार गरि दोश्रो गोल गरे ।

आजको खेलको म्यान अफ दि म्याच ताप्लेजुङका खेल क्याप्टेन समेत रहेका लिम्बूले प्राप्त गरे । यसअघि रेडहर्स क्लब इलामलाई ३–० गोलले पराजित गरेको ताप्लेजुङले आज पथरीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल गोर्खा स्र्पोटिङ क्लव, दमक, झापा र सशस्त्र प्रहरी बल एपिएफ दमकबीच भानुजन माविको खेलमैदानमा दिउँसो ३ बजे हुनेछ ।

एपिएफले कर्णसिंह सोनाम फुटबल क्लबलाई ट्राईब्रेकरमा ३–१ गोलले पराजित गरेको थियो ।

प्रतियोगितामा १० टिमको सहभागीता छ । विजेतालाई २ लाख ११ हजार १ सय रुपैयाँ र कप प्रदान गरिने आयोजकले जनाएको छ । उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने छ । लाखेजात्रा खेल संञ्चालन समितिको आयोजनमा २०२९ सालदेखि निरन्तर प्रतियोगिता हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...