जनज्योति मा.वि. सेमिफाइनलमा प्रवेश

बुटवल (खेलदैनिक)  । बुटवलमा जारी कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगिता अन्तरगत जनज्योति मा.वि. प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा टेक्निकल सेन्टर, देवीनगर बुटवलमा भएको पहिलो क्वाटरफाइनल खेलमा जनज्योतिले श्री शान्ति नमूना मा.वि.लाई पेनाल्टी शुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । यसअघि दुवै टोलीले निर्धारित समयको खेलमा गोलरहित बराबरी खेलेका थिए ।

शनिबार नै भएका अन्य खेलहरुमा स्कलर्स होम इ.बो. स्कुलले न्यू होराईजन बो. स्कुललाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यसैगरी होराईजन जि.बि.एस. ले दुर्गा मा.वि. लाई पेनाल्टी शुटआउटमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । यसअघि दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै प्रतियोगिताको अर्को दावेदार टोली स्मृति बो.स्कुलले शिवपुर मा.वि.लाई ५–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...