सातै प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने खेलकुद मन्त्रीको योजना

काठमाडौं (खेलदैनिक) । नयाँ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राजधानीमा आयोजित एक कार्यक्रममा ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला स्थापना गर्ने बताएका छन् ।

मन्त्री केसीका अनुसार झापा, विराटनगर, नेपालगन्ज, पोखरा, जनकपुर लगायतका मुख्य शहरहरुमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने योजना रहेको बताए ।

त्यस्तै काठमाडौंमा रहेको एकमात्रै अन्तर्राष्ट्रियस्तरको रंगशाला महाभूकम्पपछि ध्वस्त भएकोले सोको समेत मर्मत सम्भार भैरहेको उनले जानकारी दिए ।

उनले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सबल बनाउनको लागि गम्भीर भएर काम गर्ने समेत विश्वास दिलाए ।

खेलकुद क्षेत्रमा देखिएका सबै खाले समस्या हल गरेर अघि बढ्नु नै आफ्नो उद्देश्य रहेको भन्दै सोही बमोजिम काम गर्ने समेत मन्त्री केसीले बताए । आफ्नो विचार राख्ने क्रममा केसीले खेलकुद क्षेत्रमा कुनैपनि हालतमा राजनीति हुन नहुने बताए ।

उनले खेलकुद क्षेत्रलाई व्यावसायिकरण गर्नु आफ्नो अर्को योजना रहेको समेत बताए । खेलको विकास गर्नको लागि पर्याप्त बजेट अर्थात एक अर्ब ६० करोड छुट्याइएको समेत उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...