जनज्योति क्वाटरफाइनलमा प्रवेश

बुटवल (खेलदैनिक) । बुटवलमा जारी कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगितमा बुधबार भएको खेलमा जनज्योति मा.वि. क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एन्फा टेक्निकल सेन्टर, देवीनगर बुटवलमा भएको रोमाञ्चक प्रि–क्वाटरफाइनल खेलमा जनज्योतिले समिट इ.बो. स्कुललाई सडेन डेथमा ५–४ गोल अन्तरले पराजित गर्न सफल भयो । यसअघि दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

जितसँगै जारी प्रतियोगितामा जनज्योति क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

बुधबार नै भएका अन्य खेलहरुमा स्मृति बो. स्कुलले सिद्धार्थ ई.बो. स्कुललाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्दै प्रि–क्वाटरफाइनल प्रवेश गरेको छ । त्यसैगरी दुर्गा मा.वि. ले फ्युचरलाईट इ.बो. स्कुललाई १–० ले पराजित गर्यो ।

त्यस्तै बुधबार नै हुने भनिएको लुम्बिनी बो. स्कुल र शिवपुर मा.वि. बीचको खेलमा लुम्बिनी बो. स्कुल उपस्थित नभएपछि शिवपुर मा.वि.लाई विजयी घोषित गरिएको थियो ।

प्रतियोगिता अन्तरगत बिहीबार पल इ. बो. स्कुलले शान्ति नमूना मा.वि. को सामना गर्नेछ भने देवदह मदरटङ एकेडेमीले नेपाल इभरग्रीन इ.बो. स्कुलको सामना गर्नेछ । त्यस्तै सेन्ट जोसेफ इ.बो. स्कुलले नविन उ.मा.वि. को सामना गर्दा एपेक्स स्कुलले सिता मा.वि. सँग भिड्ने प्रतियोगिताका खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...