दुई उमेर समुहमा एकेडेमी संचालन गर्ने सहाराको तयारी

पोखरा (खेलदैनिक) । मोफसलको चर्चित क्लब मध्ये एक सहारा क्लब पोखराले उत्कृष्ट यु–१४ र यु–१२ गरी दुई समूहमा फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी गरेको छ ।

पोखराबाट उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले सहारा क्लबले दुई उमेर समूहमा एकेडेमी संचालन गर्न लागेको हो ।

क्लबका अध्यक्ष बिरभद्र आचार्यका अनुसार पोखरेली खेलाडीहरुले नेपालको ए डिभिजन क्लबहरुमा उल्लेखनिय मात्रामा उपस्थिति जनाउन सफल भएको बताए ।

साथै पछिल्लो क्रममा पोखरामा भित्रिएका विभिन्न खेलकुदको आगमनसँगै पोखरेली फुटबल खेलाडीहरु नगन्य मात्रामा नेपालको ए डिभिजन क्लबहरुमा आवद्ध भएको र पोखरामा फुटबल खेलाडीहरुको अभाव भएको महसुस भईरहेको बताउँदै पोखराबाट पूनः राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए ।

सोही योजना अनुसार कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल खेलकुद विकास समिति एवं राष्ट्रिय खेलकुद परिषद लगायतको विशेष सहयोगमा अण्डर १४ अर्थात चौध वर्ष भन्दा मुनी र १२ वर्ष भन्दा माथिको करिव ३० जना वालकहरुको छनौट गरि यहि श्रावण महिना देखी फुटबल एकेडेमी सञ्चालन गर्ने उद्येश्य अनुरुप यहि साउन १९, २०, २१ र २२ गतेसम्म पोखरा रंगशालामा विहान ६ बजे देखी छनौट कार्यक्रम राखिएको क्लबले जनाएको छ ।

ईच्छुक खेलाडीहरु एवं अभिभावकहरुलाई समय मै सम्पर्क गरि छनौट कार्यक्रममा सहभागी हुन समेत क्लबले आव्हान गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...