जनज्योति, पल, मदर टंग र इभरग्रीनको जित

बुटवल (खेलदैनिक) । बुटवलमा जारी कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगितमा सोमबार जनज्योति मा.वि., पल इ.बो. स्कुल, देवदह मदर टंग एकेडेमी र नेपाल इभरग्रीन इ.बो. स्कुलले जित हात पारेका छन् ।

एन्फा टेक्निकल सेन्टर, देवीनगर बुटवलमा भएको खेलहरुमा जनज्योतिले स्मृति इ.बो. स्कुल (सेतो) लाई शून्यकाविरुद्ध ४ गोलले पराजित गरेको छ ।

त्यस्तै पल इ.बो. स्कुलले नवप्रभात इ.बो. स्कुललाई टाईब्रेकरमा ४–१ ले निराश तुल्यायो । दुवै टोलीले निर्धारित समय गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको थियो ।

सोमबार नै सम्पन्न अन्य खेलहरुमा देवदह मदर टंग एकेडेमीले कुँवरवर्ती इ.बो. स्कुललाई ५–२ ले पराजित गरेको छ भने नेपाल एभरग्रीनले जितेश्वरी मा.वि. (रातो) लाई १–० ले पराजित गर्न सफल भयो ।

प्रतियोगिता अन्तरगत मंगलबार नविन उ.मा.वि. ले इडन इ.बो. स्कुलको सामना गर्नेछ भने एपेक्स स्कुलले एभरेष्ट उ.मा.वि. विरुद्ध उत्रिनेछ । त्यसैगरी सिता मा.वि.ले जनता मा.वि. को सामना गर्नेछ भने अर्को खेलमा न्यू होराईजन इ.बो. स्कुल र जनभावना मा.वि. आमने सामने हुने प्रतियोगिताका खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...