मकवानपुर जिल्ला लिग भदौ १३ गतेबाट

बिक्रम बानिया छेत्री 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आगामी भदौ १३ गतेबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

फुटबल संघको शनिबार हेटौंडामा बसेको बैठकले भदौ १३ गतेबाट जिल्ला लिग गर्ने निर्णय गरेको हो । प्रतियोगिताको लागि संघका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय तयारी समिति गठन गरिएको छ । समितिको सदस्यमा कार्यसमिति सदस्य सुविन घिमिरे र ज्ञानु क्षेत्री चौलागाइँ रहेका छन् ।

‘अन्य केही जिल्लाहरुमा स्थानीय चुनाव अघि नै लिग भैसकेको छ । हामीले हतारमा लिग गराउन चाहेनौँ’, फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘आगामी भदौ १३ बाट जिल्ला लिग गर्ने गरी तयारी थालेका छौँ ।’ दशैँको बेलामा जिल्लाका विभिन्न स्थानमा विभिन्न क्लव तथा संघसंस्थाहरुले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएकोले भदौमा प्रतियोगिता राखिएको उनले बताए ।

‘यो बर्ष हुप्रचौरमा गेम खेलाउने सम्भावना रहेको छ । चौरको अवस्था बुझ्दैछौँ’, श्रेष्ठले थपे, ‘हामी छिट्टै पत्रकार सम्मेलन गरी यस बिषयमा सम्पूर्ण जानकारी गराउँछौँ । पुरस्कार र टिम इन्ट्री शुल्कको बिषयमा टुङ्ग्याउनै बाँकी रहेको छ । छलफलमा नै रहेका छौँ ।’

यस बर्षको जिल्ला लिगमा दर्शकसंग टिकट लिने व्यवस्थाको सुरुवात गर्ने योजनामा फुटबल संघ मकवानपुर रहेको छ । ग्रामीण क्षेत्रका धेरै क्लवहरुलाई जिल्ला लिगमा सहभागी गराउने बिषयमा फुटबल संघ लागिपरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बैठकमा केहीदिन अघि सम्पन्न एन्फा कोकाकोला विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिताको समेत समीक्षा गरेको छ ।

विगत ४ बर्षदेखि हेटौंडाको एफसी पोताला क्लवले लगातार जिल्ला लिगको उपाधि जित्दै आएको छ।


प्रतिक्रिया दिनुहोस

Loading...