कोकाकोला कपमा होराईजन, एभरेष्ट, सिता र स्कलर्सको जित

बुटवल (खेलदैनिक) । बुटवलमा जारी कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगिता अन्तरगत शुक्रबार न्यू होराईजन बो. स्कुल, एभरेष्ट उ.मा.वि., सिता मा.वि. र स्कलर्स होमले जित हात पारेका छन् ।

एन्फा टेक्निकल सेन्टर, देवीनगर बुटवलमा भएका खेलहरुमा होराईजनले सिद्धार्थ इ.बो. स्कुललाई २–० ले पराजित गरेको छ भने एभरेष्टले लिटिल प्याराडाईज स्कुललाई १–० गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै शुक्रबार नै भएका अन्य खेलहरुमा सिता मा.वि.ले सिद्धेश्वर मा.वि.लाई १ का विरुद्ध ४ गोलले पराजित गरेको छ भने स्कलर्स होमले प्यारामाउण्ट इ.बो. स्कुललाई २–१ ले निराश तुल्यायो ।

प्रतियोगिता अन्तरगत शनिबार कान्ती मा.वि.ले जनभावना मा.वि.सँग भिड्नेछ भने होराईजन जि.बि.एस. ले मोडर्न लिटिल फ्लावर एकेडेमीको सामना गर्नेछ । त्यस्तै फ्यूचरलाईट इ.बो. स्कुलले एपेक्स स्कुल बी सँग भिड्नेछ भने दुर्गा मा.वि.ले जितेश्वरी मा.वि. (सेतो) को सामना गर्ने खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...