कोकाकोला कपमा सेन्ट जोसेफ, नविन, इडन र एपेक्सलाई सफलता

बुटवल (खेलदैनिक) । बुटवलमा जारी कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगिता अन्तरग्त सेन्ट जोसेफ इ.बो. स्कुल, नविन उ.मा.वि., इडन इ.बो. स्कुल र एपेक्स स्कुलले जित हात पारेका छन् ।

बिहीबार भएका खेलहरुमा सेन्ट जासेफले ग्यालेक्सी इ.बो. स्कुललाई टाईब्रेकरमा ४–२ ले पराजित गरेको छ । निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट लिनुपरेको थियो । जसमा सेन्ट जोसेफले जित हात पार्न सफल भयो ।

त्यस्तै दोस्रो खेलमा इडन इ.बो. स्कुल र देवदह इ.बो. स्कुलबीचको खेल हुने भनिए तापनि अन्तिम समयमा आएर देवदहले सहभागिता नजनाएपछि इडनलाई विजेता घोषित गरिएको थियो ।

बिहीबार नै भएका अन्य खेलहरुमा नविन उ.मा.वि. ले नहरपुर मा.वि.लाई २–० ले पराजित गरेको छ भने एपेक्सले बुटवल ग्लोरी इ.बो. स्कुललाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रतियोगिता अन्तरगत शुक्रबार लिटिल प्याराडाईज स्कुलले एभरेष्ट उ.मा.वि.को सामना गर्नेछ भने सिद्धेश्वर उ.मा.वि.ले सिता मा.वि.सँग भिड्नेछ । त्यसैगरी प्यारामाउण्ट इ.बो. स्कुलले स्कलर्स होम इ.बो. स्कुल (निलो) सँग भिड्नेछ भने न्यू होराईजन इ.बो. स्कुलले सिद्धार्थ इ.बो. स्कुलको सामना गर्ने खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...