नर्वे कप खेल्ने फुटबल टोलीको बिदाइ

नर्वे जाने फुटबल टोली विदाई पश्चात सामूहिक तस्विरमा ।

काठमाडौं (खेलदैनिक) । नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई बुधबार काडाँघारीस्थित अक्षरा स्कुलमा बिदाइ गरियो ।

जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुने प्रतियोगितामा टोलीले यु–१३ र यु–१६ छात्र उमेरसमूह अन्तर्गत सेभेन ए साइड फर्मेटमा प्रतिस्पर्धा गर्नेछ । टोलीमा आयन सिलवाल, कृष न्यौपाने, निर्भानराज शाक्य, आदित्य सुवेदी, सुमन्श गौतम, श्रृजेश कार्की, ऋत दत्त, गणेश भण्डारी, सुमन गुरुङ, सञ्जय खत्री, ओम दाहाल, प्रवीण कार्की, दीप गुरुङ र निश्चल न्यौपाने रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा प्रज्ज्वलप्रतिप क्षेत्री, सहायक प्रशिक्षकमा अमित खड्का र प्रमोद पाण्डे तथा व्यवस्थापकमा सुमन तिमल्सिना छन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, अक्षराका चेयरम्यान राधेश्याम खड्का, अक्षराकी प्रिन्सिपल अन्जु भट्टराई, जुनियर फुटबल एकेडेमीका अध्यक्ष रिजन खड्का, थ्री स्टार क्लबका व्यवस्थापक राम श्रेष्ठलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टोली शुक्रबार नर्वे प्रस्थान गर्ने कार्यक्रम छ । नर्वे बसाइका क्रममा खेलाडीहरु तालिममा पनि सहभागी हुने बताइएको छ ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले जुनियर खेलाडीले प्रतियोगिताबाट राम्रो एक्सपोजर पाउनुका साथै उनीहरुको मनोबल पनि उच्च हुने धारणा व्यक्त गरे ।

अक्षराकी प्रिन्सिपल भट्टराईले अक्षराको विशेष पहलमा विभिन्न विद्यालयका राम्रा फुटबल खेलाडीको टोली चयन गरी प्रतियोगितामा सहभागी गराउन लागेको बताइन् ।

सम्पूर्ण टोलीलाई थ्री स्टारका व्यवस्थापक श्रेष्ठले ट्रयाकसुट प्रायोजन गरेका थिए । सो सामाग्री पनि श्रेष्ठले कार्यक्रममै सम्बन्धितलाई हस्तान्तरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...