कोकाकोला कपमा नेपाल एभरग्रीनलाई सफलता

बुटवल । बुटवलमा जारी कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगिता मंगलबार भएका खेलहरुमा नेपाल एभरग्रीन इ.बो. स्कुल, कुँवरवर्ती ई.बो. स्कल, शान्ति नमूना मा.वि. र जितेश्वरी मा.वि.ले जित हात पारेका छन् ।

नेपाल एभरग्रीनले ज्ञानपुञ्ज बोर्डिङ स्कुललाई २–१ पराजित गरेको छ भने शान्ति नमूनाले नयाँगाउँ मा.वि.लाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै अर्को खेलमा जितेश्वरी मा.वि.ले मानवज्ञान मा.वि.लाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ भने कुँवरवर्तीले बुटवल पब्लिक स्कुललाई टाईब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतियोगिता अन्तरगत बिहीबार सेन्ट जोसेफ इ.बो. स्कुलले ग्यालेक्सी इ.बो. स्कुलको सामना गर्नेछ भने इडन इ.बो. स्कुलले देवदह इ.बो. स्कुलको सामना गर्नेछ । त्यस्तै नविन औद्योगिक कदर बहादुर उ.मा.वि.ले नहरपुर मा.वि. को सामना गर्दा एपेक्स स्कुलले बुटवल ग्लोरी इ.बो. स्कुलसँग भिड्ने खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...