एएफसी यु–१६ च्याम्पियनसिप छनौट खेलहरु नेपालमै हुने

बुटवल (खेलदैनिक) । आगामी वर्ष मलेसियामा हुन गईरहेको एएफसी यु–१६ च्याम्पियनसिपको छनौट खेलहरु नेपालमै हुने भएको छ ।

नेपाल, चिरप्रतिद्वन्द्वी भारत, डिफेन्डिङ च्याम्पियन इराक र प्यालेस्टाईनसँगै समूह डी मा रहेको छ । समूह डी को छनौट खेलहरु नेपालले आयोजना गर्नेछ भने सबै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

छनौट चरण अन्तरगत कुल ४५ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता तथा पाँच उत्कृष्ट उपविजेता टोलीहरुले आगामी वर्षको सेप्टेम्बर २० देखि अक्टुबर ७ तारीखसम्म मलेसियामा हुने एएफसी यु–१६ च्याम्पियनसिप खेल्नेछन् ।

त्यस्तै यु–१६ च्याम्पियनसिपको शिर्ष चार स्थानमा रहने टोलीले सन् २०१९ मा हुने फिफा यु–१७ विश्वकपका लागि एसियाली क्षेत्रबाट छनौट हुनेछन् ।

गत संस्करण अन्तरगत सन् २०१६ मा भारतमा भएको एएफसी यु–१६ च्याम्पियनसिपमा इराक (विजेता), जापान, उत्तर कोरिया र इरान शिर्ष स्थानमा रहँदै एसियाली क्षेत्रबाट यहि आउँदो अक्टुबर ६ देखि २३ तारीखसम्म भारतमै हुन गईरहेको फिफा यु–१७ विश्वकपका लागि छनौट भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...