अन्तरविद्यालय कोकाकोला कपमा समिटको विजयी शुरुवात (फोटो फिचर)

बुटवल (खेलदैनिक) । बुटवलमा प्रतिष्ठित कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगिता सोमबारदेखि एन्फा टेक्निकल सेन्टर, बुटवल, देवीनगरमा शुरु भएको छ ।

उदघाटन खेलमा समिट इङलिस बोर्डिङ स्कुलले स्कलर्स होम इङलिस बोर्डिङ स्कुल (रातो) लाई पराजित गर्दै विजयी शुरुवात समेत गरेको छ ।

विजयी शुरुवात गर्ने क्रममा समिटले स्कलर्सलाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्न सफल भयो । समिटको जितमा सुमन चन्द ठकुरी र दिपक क्षेत्रीले १–१ गोल गरे ।

प्रतियोगिताको नेपाली काँग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले एक कार्यक्रमका बीच गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति अधिकारी, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी ‘कुमार’, महासचिव लोक पुन लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत मंगलबार सिद्धि चिल्ड्रेन्स एकेडेमीले स्मृति बोर्डिङ स्कुल (सेतो) को सामना गर्नेछ भने ग्लोरी इ.बो. स्कुलले नवप्रभात इ.बो. स्कुलको सामना गर्नेछ । त्यस्तै बुटवल इलिट इ.बो. स्कुलले पल इ.बो. स्कुलको सामना गर्नेछ भने जनज्योति मा.वि.ले मोतिपुर मा.वि. को सामना गर्ने खेल संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...