रुपन्देहीमा अन्तरविद्यालय कोकाकोला कप सोमबारदेखि

बुटवल (खेलदैनिक) । रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा साउन ९ गते सोमवारदेखि कोकाकोला कप अन्तरविद्यालय फूटवल प्रतियोगिता शुरु हुने भएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा छात्रतर्फ ५२ र छात्रातर्फ ४ टिम गरी कुल ५६ टिमहरुले सहभागिता जनाउने जानकारी गराइयो ।

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद ३० हजार हात पार्नेछन् भने उपविजेताले नगद २० हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनल पुगेका २ टोलीलाई जनही ५–५ हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले बताउनुभयो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट ५ विधाका खेलाडीहरुलाई नगद २–२ हजार प्रदान गरिने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी छात्रातर्फको विजेताले ट्रफीसहित नगद १० हजार तथा उपविजेताले ५ हजार प्राप्त गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

साउन ९ गते सोमबारदेखि शुरु हुने प्रतियोगिताको फाइनल साउन २३ गते हुनेछ । प्रतियोगिताका सबै खेलहरु बुटवल, देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिता संयोजक क्षेत्रीले बताउनुभयो ।

प्रतियोगितामा छात्र तर्फका विजेता र उपविजेता दुवै टिम र छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने छन ।


प्रतिक्रिया दिनुहोस

Loading...