नेपाल एएफसी यु–२३ छनौटमा लेबनानसँग पनि पराजित

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत आफ्नो अन्तिम खेलमा पनि नेपालले हार बेहोरेको छ ।

समूह डी तर्फ बुधबार राती सम्पन्न दोस्रो खेलमा नेपाल लेबनानसँग २–० ले पराजित हुँदै प्रतियोगिताको अन्त्य गरेको हो ।

अल ऐनस्थित तहनुन बिन मोहम्मद स्टेडियममा सम्पन्न उक्त खेलमा लेबनानका लागि दुवै गोल हसन कुरानीले गरे । उनले खेलको २९ औं र ९० औं मिनटमा गोल गर्दै लेबनानको जित सुनिश्चित गरे ।

समूह डी मा ३ खेलबाट ९ अंक बटुलेको उज्बेकिस्तान विजेता बन्दै बुधबार नै आगामी वर्ष चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपका लागि छनौट भईसकेको छ । त्यस्तै समान खेलबाट ६ अंक जोडेको युएई उपविजेता बन्यो र उसले उत्कृष्ट उपविजेताको हैसियतले फाइनल चरणमा प्रवेश गर्ने सम्भावना कायम राखेको छ ।

उता ३ खेलबाट ३ अंक जोडेको लेबनान तेस्रो स्थानमा रह्यो भने अंकबिहीन नेपाल पुछारमै रहँदै प्रतियोगिताको समाप्ती गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...