पूर्व राष्ट्रिय फुटबलर बसन्त गौचनले नेपालमा सुविधासम्पन्न फुटबल एकेडेमी सञ्चालन गर्ने

(तस्विर गोलनेपाल)

काठमाडौं (खेलदैनिक) । नेपालका चर्चित पूर्व राष्ट्रिय फुटबलर बसन्त गौचनले नेपालमा सुविधा सम्पन्न उत्कृष्ट फुटबल एकेडेमी सञ्चालन गर्ने भएका छन् ।

गौचनका अनुसार उनले नेपालभरि नै आफ्नो एकेडेमीको विस्तार गर्ने बताएका छन् । यद्यपि उनको पहिलो एकेडेमी भने गृहनगर पोखरामा बन्नेछ ।

एकेडेमी सञ्चालन गर्नका लागि उनलाई फनरुट एकेडेमी, जापानले पनि सहयोग गर्नेछ । एएफसी मान्यता प्राप्त प्रशिक्षक समेत रहेका गौचनले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्रतिष्ठित फुटबल एकेडेमी फनरुट्समा प्रशिक्षक बन्नु अघि आफूले त्यहाँ धेरै कठिक संघर्ष र मेहनत गरेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै गौचनले भने “म नेपाली खेलाडीहरुलाई जापानमा मौका दिन चाहन्छु । नेपाली खेलाडीहरु प्रतिभावान छन् । उनीहरुलाई विदेशमा व्यवसायीक फुटबल खेल्ने वातावरणको सिर्जना गर्न सहयोग गर्नेछु ।”

आफूले सञ्चालन गर्ने फुटबल एकेडेमीले उत्कृष्ट व्यवसायिक सेवा र सुविधाहरु दिने गौचनले बताए । नेपाली यु–१२ टोलीलाई पटक–पटक जापानमा प्रतिष्ठित कोपा पुमा टोरेस च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाएको बताउँदै गौचनले अगाडी भने “मेरो एकेडेमीका प्रशिक्षार्थीहरुले जापानमा हुने विभिन्न जुनियर प्रतियोगिताहरुमा सहभागिता जनाउनेछन् ।”

वर्तमान नेपाली राष्ट्रिय फुटबल टोलीलाई पनि आफूले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको बताउँदै उनले आगामी दिनमा पनि देशका लागि केही गर्न सके त्यसले आफूलाई खुशी तुल्याउने बताए ।

कार्यक्रममा फनरुट्स एकेडेमी, जापानका अध्यक्ष जुन हिरामो र प्रशिक्षक गौचनले संयुक्त रुपमा फनरुट्स एकेडेमीको जर्सी समेत सार्वजनिक गरे । फनरुट्स एकेडेमीका अध्यक्ष हिरामोले गौचनले सञ्चालनमा ल्याउने एकेडेमीलाई आफ्नो पूर्ण सहयोग र समर्थन रहने बताए ।

साथै सोही कार्यक्रममा फनरुट्सले आश्रय नेपाललाई विभिन्न खेलकुद सामग्री सहयोग स्वरुप हस्तान्तरण गरेको छ । फनरुट्सका अध्यक्ष हिरामो र प्रशिक्षक गौचनले संयुक्त रुपमा आश्रय नेपाललाई ३० फुटबल बुट र २० वटा फुटबल हस्तान्तरण गरे ।

आश्रय नेपालले आगामी वर्ष रुसको मस्कोमा हुने सेवेन ए साईड स्ट्रिट चाईल्ड विश्वकपमा नेपालको तर्फबाट सहभागिता जनाउने भएको छ । उक्त विश्वकपमा सहभागीता जनाउन खेलाडीहरुको छनौटका लागि अर्को महिनादेखि लिगको आयोजना गरिने समेत आश्रय नेपालले बताएको छ । लिगबाट छानिएका उत्कृष्ट २२ खेलाडीबाट स्ट्रिट चाइल्ड विश्वकपमा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...