आज उज्बेकिस्तानलाई रोक्ने नेपालको लक्ष्य

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपालले आज दोस्रो खेलमा उज्बेकिस्तानसँग भिड्दै छ ।

आफ्नो पहिलो खेलमै आयोजक युएईसँग नराम्ररी पराजित नेपालले समूह चरणमा आफ्नो सम्भावना कायम राख्न आज कुनै गतिलो प्रदर्शन गर्नुपर्नेछ ।

अंकतालिकाको पुछारमा रहेको नेपालले आज उज्बेकिस्तानसँग भिड्दै हालै मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध गरेको प्रदर्शन दोहोराउन सक्नुपर्नेछ ।

तर नेपाललाई यो त्यति सहज भने हुने छैन । नेपालले आज भिड्न थालेको उज्बेकिस्तान पनि बलियो टिम हो । उसले पनि आफ्नो पहिलो खेलमा लेबनानविरुद्ध ३–१ शानदार जित हात पार्दै आफूलाई अब्बल रहेको प्रमाणित गरिसकेको छ ।

शारीरिक र प्राविधिक रुपमा उत्कृष्ट उज्बेकिस्तानको हरेक पक्ष सबल छ । ठिक विपरित उता नेपालको रक्षापंक्ति पनि केही कमजोर देखिएको छ भने नेपाली खेलाडीहरु विपक्षीभन्दा शारीरिक रुपमा कमजोर पनि देखिन्छन् ।

युएईविरुद्ध नेपाली रंक्षापंक्तिले आपसी तालमेल मिलाउन नसक्दा आफ्नै गल्तीमा पेनाल्टी पाएको र गोल खाएको धेरैको बुझाई छ । जुन गल्ती र कमजोरीबाट नेपाली खेलाडीले पाठ सिक्दै आज उज्बेक टिमविरुद्ध गतिलो प्रदर्शन गर्नुपर्ने छ ।

आज बेलुका अल एनस्थित तहनुन बिन मोहम्मद स्टेडियममा नेपाल र उज्बेकिस्तान आमने सामने हुँदा उज्बेक टिम लगातार दोस्रो जितको खोजीमा हुनेछ भने नेपाल पहिलो जित हात पार्दै अंकको खोजीमा हुनेछ ।

आजको खेल नेपाली समय अनुसार ८ बजेर १० मिनटमा हुनेछ । समूह डी कै अर्को खेलमा आज युएई र लेबनान पनि भिड्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...