युएईलाई चुनौति दिन मैदानमा उत्रदै नेपाल

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत आज पहिलो खेलमा नेपाल र घरेलु टोली युएई आमने सामने हुँदैछन् ।

स्थानीय समय अनुसार बेलुका ६२५ मा शुरु हुने खेलमा घरेलु टोली युएईले नेपालको आतिथ्यता गर्दै छनौट खेलको शुरुवात गर्नेछ ।

वर्षैभरि व्यस्त रहने र छनौट खेलका लागि उत्कृष्ट तयारी गरेको युएई नेपालविरुद्ध जित हात पार्नेमा विश्वस्त छ । साथै उसलाई घरेलु मैदान र समर्थकको पनि साथ रहनेछ ।

उता ठिक विपरित युएईको चर्को गर्मीसँग पूर्ण अभ्यस्त नभईसकेका नेपाली खेलाडीहरुलाई केहि कठिनाई हुने देखिन्छ । यद्यपि नेपाली खेलाडीहरु पनि युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छन् ।

टोलीमा संगै खेलिरहेका खेलाडी साथीहरुको सम्मिश्रण रहेको र मैत्रीपूर्ण खेलमा बंगलादेश यु–२३ लाई पराजित गरेकाले आफूहरुमा पनि केही आत्मविश्वास रहेको नेपाली टोलीका कप्तान बिमल घर्ती मगर बताउँछन् ।

त्यस्तै युएई बलियो टोली रहेता पनि आफूहरु उत्कृष्ट खेल्दै विपक्षीविरुद्ध कडा चुनौति पेश गर्ने अर्का फरवार्ड अन्जन बिष्टको योजना छ ।

घरेलु टोली युएईले आज नेपालविरुद्ध निश्चित हात पार्दै प्रतियोगिताको शुरुवात जितसँगै गर्न चाहन्छ भने नेपाली टोली उसलाई कडा चुनौति दिंदै जित वा कम्तीमा पनि बराबरी खेल्दै अंकतालिकामा खाता खोल्न चाहन्छ ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसँगै समूह डी मा रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...