नेपालले युएईविरुद्ध रातो जर्सी लगाउने

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा रातो जर्सी लगाउने भएको छ । अल आईनमा बसेको व्यवस्थापकहरुको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा छनौट चरण खेल्ने चारै टोली नेपाल, युएई, उज्बेकिस्तान र लेबनानका व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा भोली घरेलु टोली युएई र नेपालबीच हुने खेलमा दुवै टोलीले लगाउने जर्सीको रंगबारे सहमति भएको थियो । जसअन्तरगत नेपालले रातो जर्सी लगाउने तय भएको छ भने युएईले सेतो जर्सी लगाउनेछ ।

त्यस्तै उज्बेकिस्तानविरुद्धको खेलमा पनि नेपालले रातो जर्सी लगाउने छ भने लेबनानविरुद्धको खेलमा निलो जर्सी लगाएर मैदानमा उत्रिने छ ।

उक्त बैठकमा छनौट खेल अन्तरगतका प्राविधिक तथा अन्य विषयवस्तुहरुमा पनि छलफल भएको थियो ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत समूह डी मा रहेको नेपालले पहिलो खेल जुलाई १५ तारीख (भोली शनिबार) घरेलु टोली युएईसँग खेल्दैछ भने दोस्रो खेल जुलाई १७ तारीखमा उज्बेकिस्तानसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल जुलाई १९ तारीखका दिन लेबनानसँग् खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...