नेपाली यु–२३ टोलीका खेलाडीहरुले दैनिक १४ डलर मात्र पाउने

विदाई कार्यक्रमपछि सामूहिक तस्विर खिचाउँदै नेपाल यु–२३ टिमका खेलाडी तथा पदाधिकारीहरु ।

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुले पाउनु पर्ने दैनिक भत्तामा न कुनै सुधार आएको छ न एन्फाले यसतर्फ चासो देखाएको छ ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौटका लागि युएईतर्फ जान लागेको युवा फुटबलरहरुले त्यहाँ हरेक दिन पुरानै दरमा दैनिक १४ डलरका दरले भत्ता पाउने एन्फाले जनाएको छ ।

एन्फाले ८ दिनका लागि १४ डलरका हिसाबले प्रत्येक खेलाडीहरुलाइृ कुल ११ हजार ५ सय रुपैया भत्ता उपलब्ध गराउने जनाएको छ । जुन खेलाडीहरुलाई पहिलाबाट नै दिंदै आएको रकम हो । अन्य देशको तुलनामा नेपालका खेलाडीहरुले पाउने यो रकम ज्यादै न्युन समेत हो ।

बिगत केही वर्षअघि देखि नै राष्ट्रिय खेलाडीहरुले आफूहरुले पाउनु पर्ने भत्तामा बृद्धि गर्नुपर्ने माग राखे तापनि एन्फाले खेलाडीहरुको त्यो मागलाई बेवास्ता गर्दै अझै कार्यान्वयन गरेको छैन ।

त्यसैगरी एन्फाले बुधबार नै युएई जाने नेपाल यु–२३ टोलीका खेलाडी तथा पदाधिकारीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपाली यु–२३ टोली बिहीबार युएईतर्फ प्रस्थान गर्दैछ । छनौट खेल अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसँगै समूह डी मा रहेको छ ।

छनौट खेल अन्तरगत नेपालले आफ्नो पहिलो खेल घरेलु टोली युएईसँग जुलाई १५ तारीखमा खेल्नेछ भने १७ तारीखमा उज्बेकिस्तानसँग खेल्नेछ । त्यस्तै अन्तिम खेल लेबनानसँग १९ तारीखमा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...