“छनौट चरणका लागि थप तयारी जरुरी” : प्रशिक्षक शाक्य

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपाल यु–२३ फुटबल टिमका प्रशिक्षक राजुकाजी शाक्यले एएफसी यु–२३ च्याम्पियनसिप छनौटमा नेपाल कठिन समूहमा भिड्न लागेको बारे आफू सचेत रहेको कुरा दोहोराएका छन् ।

मंगलबार बंगलादेश यु–२३ टोलीलाई १–० ले पराजित गरेपछि आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक शाक्यले सो कुरा दोहोराएका हुन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाक्यले भने “आज हामी हाम्रो रणनीति अनुसार नै होशियारीपूर्वक खेल्यौं । म चाहन्थे हाम्रो खेलाडीहरु चोटिल नबनुन् ।”

छनौट खेलका लागि नेपालले थप तयारी गर्नुपर्ने प्रशिक्षक शाक्यको भनाई थियो । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न पाउँदा खुशी लागेको बताउँदै शाक्यले भने “उनीहरु त्यति बलिया टोली होईनन् । तर बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न पाउँदा खुशी छु ।”

नेपालले यहि जुलाई १५ देखि १९ तारीखसम्म युएईमा एएफसी यु–२३ च्याम्पियनसिपको छनौट खेल खेल्दैछ । जसअन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...