आज नेपाल र बंगलादेशको एउटै लक्ष्य ‘जित’

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल यु–२३ र बंगलादेश यु–२३ बीच आज मैत्रीपूर्ण खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने यस मैत्रीपूर्ण खेलमा दुवै टोलीले जित हात पार्ने दावी गरेका छन् ।
बंगलादेशका प्रशिक्षकले यस मैत्रीपूर्ण खेललाई हल्का रुपमा नलिने यसअघि नै बताईसकेका छन् ।

त्यस्तै बंगलादेशी कप्तान सोहेल रानाको भनाई पनि उस्तै छ । युवा खेलाडीहरुले भरिए पनि नेपालविरुद्ध जित हात पार्नेमा आशावादी रहेको उनी बताउँछन् ।

यता नेपालका प्रशिक्षक राजुकाजी शाक्य भने आजको खेलमा सावधानीपूर्वक खेल्ने रणनीतिमा छन् । मैत्रीपूर्ण भन्दा पनि छनौट खेल महत्वपूर्ण रहेकाले आफ्ना खेलाडीले कुनै चोट नबोकुन भन्ने शाक्यको भनाई छ ।

त्यस्तै नेपाली कप्तान बिमल घर्तीमगर भने बंगलादेशविरुद्ध स्पष्ट जित हात पार्ने दावी गर्छन् । टिममा राष्ट्रियस्तरका राम्रा खेलाडीहरुको सम्मिश्रण रहेको र टिम एकता भएकाले नेपालले सफलता हासिल गर्नेमा उनी विश्वस्त छन् ।
यद्यपि युवा जोशले भरिएको दुवै टिमबीचको आजको खेल प्रतिस्पर्धात्मक हुने धेरैको अनुमान छ ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको छ भने बंगलादेश आयोजक प्यालेस्टाईन, ताजिकिस्तान र जोर्डनसहित समूह ई मा रहेको छ ।

खेल आज ठिक दिनको ३ बजे शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...