युनिभर्सियाड खेलकुदमा अनिताको उत्कृष्ट प्रदर्शन

काठमाडौं (खेलदैनिक) । इटालीको नेपोली शहरमा विहिवारदेखि ३०औँ समर युनिभर्सियाड खेलकुद प्रतियोगिता औपचारिकरुपमा शुरु भएको छ । प्रतियोगितामा विश्वका १ सय ५४ राष्ट्रका ८ सय खेलाडीले सहभागिता जनाएका छन् । नेपालले यो प्रतियोगिता दुई खेल तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको छ ।

३०औँ युनिभर्सियाड खेलकुदमा फेन्सिङ खेलको महिला एकल इपीतर्फ नेपालकि अनिता कार्कीले उत्कृष्ट प्रदर्शन गरेकि छिन् । असार १९ गते नेपोलीको हिप्पो क्राटिका सिभितामको इन्डोर कवडहलमा आयोजित पाँच खेलमा अनिताले उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्तरीय खेलाडीलाई कडा चुनौंति दिइन् ।

आफ्नो पहिलो खेलमा विश्वकी चौथो वरियता प्राप्त फ्रान्सकि खेलाडी लुटी एलियासंग भिडेकी अनिता उक्त खेलमा ५–२ को अन्तरले पराजित भईन् । दोश्रो खेलमा इजरायलकी विश्वकी २१ वरियता प्राप्त खेलाडी गाभ्रिइल्को निकोलसंग प्रतिस्पर्धा अनिताले यो खेलमा पनि ५–२ को अन्तरले पराजित भइन् ।

अनिताको तेस्रो भिडन्त हंगेरीकि खेलाडी सोन्का भलेरियासंग भएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा अन्तिममा स्कोर गर्न नसक्दा अनिताले पराजयको मुख देख्नु पर्यो । यो खेलमा पनि अनिता ५–२ ले पराजित भइन् । त्यस्तै चौथौ खेलमा क्यानडाकि खेलाडी वोय टमारासंग ५–१ को अन्तरले पराजित भएकि अनिताले अन्तिम तथा पाँचौं भिडन्तमा उत्कृष्ट प्रदर्शन गरिन् । नर्वेकि खेलाडी हिल्ली थालेसंग भएको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५–४ ले पराजित भइन् । यो खेलमा जस्ले निर्धारित समयमा सवैभन्दा पहिले ५ अङ्क बटुल्छ त्यो खेलाडीलाई विजय घोषित गरिन्छ ।

खेलपछिको कुराकानीमा अनिताले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागितामा सोचेको भन्दा उत्कृष्ट प्रदर्शन गरेको बताइन् । सिमित स्रोत र साधनका बावजुद पनि आफुले उत्कृष्ट प्रदर्शन गरेको र यो प्रतिस्पर्धावाट निकै अनुभव बटुलेको बताइन् । नेपालमा पनि नियमित प्रशिक्षण र उपयुक्त प्रशिक्षण गर्ने व्यवस्था भए नेपाल पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने दाबी गरिन् । साथै आफ्नो प्रदर्शनप्रति उनले खुशी व्यक्त गरिन् ।

त्यस्तै यो प्रतियोगिताका सेभ द मिसन तथा विश्वविद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले अनिताको प्रदर्शन उत्कृष्ट भएको बताए । विश्वस्तरीय खेलाडीहरुसंगको प्रतिस्पर्धामा अनिताको प्रर्दशन प्रशंसनिययोग्य थियो भन्दै सिमित साघन र स्रोतका बावजुद पनि अनिताले उत्कृष्ट प्रदर्शन गरेको जोशीको ठहर थियो । यदि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा पदक जिताउने हो भने राज्यले नै विशेष योजना र दुरदर्शीका साथ लाग्नुपर्ने बताए ।

त्यस्तै असार १८ गते इटालीको नेपोली रङ्गशालामा ३० औं समर युनिभर्सियाड खेलकुदको भब्य समारोहकाविच उद्घाटन भएको थियो । उक्त प्रतियोगिताको उद्घाटन इटालीका राष्ट्रपति सर्जियो मारेरेल्लाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...