मकवानपुरलाई यु–१६ एकेडेमी कपको उपाधि

यु–१६ एकेडेमी कप उपाधि सहित मकवानपुरका खेलाडीहरु ।

पोखरा (खेलदैनिक) । स्पोन्सर यु–१६ एकेडेमी कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर क्रिकेट एकेडेमीले जितेको छ ।

उपाधिको दावेदार मानिएको नेपाल क्रिकेट स्कुल (एनसिएस)लाई ४१ रनले पराजित गर्दै मकवानपुर क्रिकेट एकेडेमी प्रतियोगिताको विजेता बन्न सफल भएको हो ।

पोखराको एमसीसी मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ८ रनको मध्यम योगफल तयार पारेको थियो । मकवानपुरका लागि शुभ कंशकारले ३१ रन बनाए । सुरज तिमल्सिना २३ रनमा अविजित रहे । त्यस्तै सारान्स गौतलले १४ रनको योगदान दिए । एनसिएसका नितेश यादवले दुई विकेट लिए भने शशांक अग्रवाल र रिजन थापाले एक–एक विकेट हात पारे ।

उता १ सय ९ रनको लक्ष्य पछ्याएको एनसिएस १५.५ ओभरमा ६७ रनमा समेटिन पुगेको थियो । एनसिएसका ओपनर विराट भण्डारी र प्रतिश जिसीले मात्र सर्वाधिक १७–१७ रन बनाए भने सचिन शर्माले १४ रनको योगदान दिएका थिए । अन्य ब्याट्सम्यानहरुले गतिलो योगदान दिन नसक्दा एनसिएस पराजित हुन पुग्यो । बलिङतर्फ मकवानपुरका साकर गजुरेल र शुभ कंशकारले समान तीन–तीन विकेट लिए । यस्तै सरान्स गौतम र राजु यादवले दुई–दुई विकेट हात पारे ।

विजेता मकवानपुरले ७५ हजार रुपैया प्राप्त गर्यो । त्यस्तै उपविजेता बनेको एनसिएसले ३५ हजार रुपैयामा चित्त बुझायो । मकवानपुरका साकार गजुरेल प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । एनसिएसका रित गौतम उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने पोखरा क्रिकेट क्लबका मेखबहादुर सेन उत्कृष्ट बलर घोषित भए ।

खुकुरी इन्टरटेन्टमेन्ट र देवीवास इभेन्ट्सको आयोजना तथा माछापुच्छ्रे क्रिकेट क्लबको संयोजनमा जेठ २७ गतेबाट शुरु भएके प्रतियोगितामा विभिन्न ८ क्रिकेट टिमले सहभागिता जनाएका थिए ।

(तस्विर : क्रिकेटिङनेपाल)


प्रतिक्रिया दिनुहोस

Loading...