नेपाल र श्रीलंकन टोलीको टी-२० सिरिज स्थगित

वैशाख १० – नेपाली राष्ट्रिय क्रिकेट टोली र टेष्ट मान्यताप्राप्त श्रीलंकाको शक्तिशाली टोली बैशाख तेस्रो साता हुने भनिएको टी-२० सिरिज स्थगित भएको छ । नेपालको गोर्खा राइनोज र श्रीलंकाको लंकन लायन्सबिच आगामी १२ गतेदेखि १८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने भनिएको खेल देशको राजनीतिक अवस्थाका कारण स्थगित गर्नुपरेको भन्दै विज्ञप्तीमार्फत आयोजक पेरिविंकल सर्विसले जनाएको छ ।

प्रतियोगिता स्थगित गर्नुपर्दा आफूहरु निकै दुःखी भएकोसमेत आयोजकले जनाएको छ ।  श्रीलंकन राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीसमेत सम्मिलित टोलि सनथ जयसूर्या, चामिन्दा भासलगायतका पूर्व तथा वर्तमान श्रीलंकाली स्टार खेलाडीहरुसँग खेल्न पाउनु अन्तर्राष्ट्रिय क्रिकेटमा उदाउँदै गरेको नेपाली टोलीका लागि फलदायी हुने थियो ।

आयोजकले उपयुक्त समयमा फेरि पनि श्रृंखला नेपालमा गर्नेमा विश्वस्त हुन आग्रहसमेत गरेको छ । यस्तै श्रृंखलाका लागि टिकट खरिद गरिसकेका दर्शकहरुलाई खरिद गरेकै काउन्टर वा कम्पनीबाट रकम फिर्ता गराउने पनि आयोजकले जनाएको छ ।

‘प्राविधिक कारणले श्रृंखला रोक्नुपर्दा नेपाली क्रिकेट र समर्थकको भावनामा ठेष पुग्न गएकोप्रति हामीलाई अत्यन्त दुःख लागेको छ’ विज्ञप्तीमा उल्लेख छ ।

‘वैशाख ३१ मा हुने तय भएको स्थानीय तहको निर्वाचनका कारण हामी तत्कालका लागि श्रृंखला स्थगित गर्न बाध्य भएका हौं । स्थानीय निकायको निर्वाचन हुनुभन्दा दुई हप्तामात्र अघि श्रृंखलाको मिति रहेको यहाँहरु लाई जानकारी छ । तीन खेलको श्रृंखलाअन्तर्गत हुने दोस्रो खेलको मिति वैशाख १६ कै दिन स्थानीय निर्वाचनका लागि उम्मेद्वारी दर्ताको दिन परेको यहाँहरुमा विधितै छ’ विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचनका लागि सम्पूर्ण सुरक्षा निकाय व्यस्त रहने तथा अन्य प्राविधिक कारणले श्रृंखला सार्नुपरेको हाम्रो बाध्यता सबै नेपाली क्रिकेटप्रेमीले बुझ्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’

नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० बर्ष पुगेको अवसरमा तीन म्याचको टी-२० क्रिकेट सिरिज कीर्तिपुर मैदानमा बैशाख १४, १६ र १८ मा गर्ने तय भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...