डिपिएल: कञ्चनपुरको पहिलो जित, पारस नेतृत्वको धनगढी फेरि पराजित

चैत ३१ – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा कञ्चनपुर आइकोनिकले पहिलो जित आत्मसाथ गरेको छ । कञ्चनपुरले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको हो ।

यसअघिका दुवै खेलमा पराजित भएको थियो । कञ्चनपुर यसअघि सम्पन्न दुई खेलमा रुपन्देही र काठमाडौंसँग पराजय ब्यहोरेको थियो । राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको धनगढी चौराहाले लिगमा लगातार दोस्रो पराजय ब्यहोरेको हो । पहिलो खेलमा बिराटनगर किंग्सले चौराहा धनगढीलाई २३ रनले पराजित गरेको थियो ।

बिहीबार भएको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाउँदा अल आउट भएको हो ।

चौराहाका अनिल मडण्लले १५ बलमा १२ रन, आरिफ शेखले ३२ बलमा २२ रन, पारस खड्काले २३ बलमा २३ रन बनाए । यस्तै पृथु बास्कोटाले १७ बलमा १९ रन बनाए । चार जना ब्याट्सम्यान शून्यमा आउट भए । प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए । चौराहाको इनिङ ध्वस्त पार्ने क्रममा अभिनाश कर्णले ३ विकेट लिए । कर्ण म्यान अफ द म्याच बने । ललितसिंह भण्डारी र चन्द्र साउदले २/२ विकेट लिए । सुनील धमला र सिद्धान्त लोहनीको नाममा एक एक विकेट रहृयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । कञ्चनपुरका लागि सागर पुनले ४३ बलमा २० रन, सुनिल धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । चौराहाका रामनरेश गिरी र आरिफ शेखले दुई दुई साथै सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिएका थिए ।

Pic. Kaushal Adhikari/CricketingNepal


प्रतिक्रिया दिनुहोस

Loading...