फाइनल पुग्ने नेपालको सपनामा बर्षा बन्यो बाधक

काठमाडौं (खेलदैनिक) । बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुका बावजुद बर्षा बाधक बन्दा नेपाल हाल मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपको सेमिफाइनलबाट दुर्भाग्यपुर्ण रुपमा बाहिरिएको छ ।

किनारा एकेडेमी ओवलमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले युएईलाई १९.५ ओभरमा अलआउट गरेको थियो । युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बटुलिन् ।

बलिङतर्फ नेपालका अस्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिईन । त्यस्तै इन्दु वर्माले ३ विकेट लिंदा सीता राना मगरले २ विकेट आफ्नो खातामा पारिन् ।

तर नेपालले जवाफी ब्याटिङ गर्न पाएन । लगातारको भारी वर्षाले पिच खेल्न योग्य नभएपछि खेल स्थगित भएको थियो । यद्यपि समूह चरणको उत्कृष्ट प्रदर्शन र नतिजाले युएईलाई फाइनलमा पुर्यायो ।

समूह ए को विजेता युएईले समूह चरणमा एउटै खेल हारेन । त्यस्तै समूह बी मा भने हङकङसँग पराजित नेपाल समूह उपविजेता बनेको थियो । समूह चरणको त्यहि प्रदर्शन नेपालका लागि घातक बन्यो र दुर्भाग्यपुर्ण रुपमा सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो ।

अब युएईले फाइनलमा शुक्रबार नै हुने हङकङ र आयोजक मलेसिया बीचको दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि फाइनल खेल्नेछ । फाइनल खेल भने शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...