जितको ह्याट्रिकका साथ नेपाल सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । लगातार तेस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बी मा रहेको नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा बहराईनलाई ८ विकेटले हरायो । वर्षा बाधक बनेपछि खेल ७–७ ओभरमा छोट्याइएको थियो । टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले बहराईनलाई निर्धारित ७ ओभरमा १४ रन मात्र बनाउन दियो ।

बहराईनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बटुलिन् । बलिङतर्फ नेपालका लागि सबिता कुँवर र सबनम राईले समन २–२ विकेट लिए । त्यस्तै अस्मिना कर्माचार्यले १ विकेट लिईन् ।

जवाफी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाएर १५ रन बनाउँदै सहज जित हात पारेको थियो । नेपालका लागि सीता राना मगरले ४ रन बटुलिन भने कबिता जोशी ३ रनमा नटआउट रहिन । नेपालले ८ रन भने एक्सट्रा पाएको थियो ।

खेलमा नेपालकी कविता कुँवर प्लेयर अफ द म्याच घोषित भईन् । लगातार तेस्रो जित हात पारेको नेपाल ३ खेलबाट ६ अंकका साथ शिर्ष स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...