नेपालको लगातार दोस्रो जित

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपतर्फ नेपालले आफ्नो समूहमा लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिता अन्तरगत समूह बी मा रहेको नेपालले लगातार दोस्रो जित हात पार्ने क्रममा कुवेतलाई २५ रनले हरायो ।

किनारा एकेडेमी ओभलमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट ३४ रन बनाईन भने इन्दु बर्माले पनि २८ रनको नटआउट पारी खेलिन् ।

जवाफी लक्ष्य पछ्याएको कुवेतले भने निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । कुवेतका लागि मारियमा हैदरले नटआउट १६ रन बनाईन । त्यस्तै कप्तान आम्ना तारिकले पनि १४ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत छुन सकेनन् ।

बलिङतर्फ नेपालका लागि सीता राना मगरले २ विकेट लिईन् । त्यस्तै अस्मिना कर्माचार्य, संगिता राई र इन्दु बर्माले समान १–१ विकेट आ–आफ्नो खातामा पारे । खेलमा नेपालकी कप्तान रुबिना क्षेत्री प्लेयर अफ द म्याच घोषित भईन् ।

यो जितसँगै २ खेलबाट ४ अंक जोडेको नेपाल समूह बी को शिर्ष स्थानमा छ । साथै सेमिफाइनलमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । त्यस्तै दुई अंक जोडेको हङकङ दोस्रो स्थानमा छ भने १–१ अंक जोडेका बहराईन र कुवेत तेस्रो र चौथो स्थानमा छन् । अंकविहीन भुटान भने पुछारमा छ ।

समूह चरणतर्फ नेपालले आफ्नो तेस्रो खेल सोमबार बहराईनसँग खेल्नेछ । त्यो खेलमा जित निकाले नेपालको सेमिफाइनल प्रवेशको सम्भावना लगभग निश्चित हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...