नेपाल र अमेरिकाको रोमाञ्चक बराबरी

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत अमेरिकामा जारी ट्राई सिरिज अन्तरगत तेस्रो एकदिवसीय रोमाञ्चक बराबरीमा सकिएको छ ।

अमेरिका र नेपालबीच भएको सो खेल नतिजाविहीन म्याच टाईड भएको हो । पियरल्याण्ड स्थित मुसा स्टेडियममा टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर २७४ रन बनाएको थियो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रन बनाउँदा ओपनर आशिफ शेखले पनि ६१ रनको पारी खेले । त्यस्तै देव खनालले पनि ५४ रनको अर्धशतकीय पारी खेल्दा मोहम्मद आदिल आलमले ३६ रनको योगदान दिए ।

जवाफी लक्ष्य पछ्याएको आयोजक अमेरिकाले पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनायो । अमेरिकाका लागि ओपनर स्टिभन टेलरले ११४ रनको शतकीय पारी खेले भने मोनांक पटेलले ८५ रन बटुले ।

खेलमा अलराउण्ड प्रदर्शन गरेर प्लेयर अफ द म्याच समेत चुनिएका नेपालका मोहम्म्द आदिल आलमले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामी र सन्दिप लामिछानेले १–१ विकेट लिए ।

यो नतिजासँगै नेपाल र अमेरिकाले १–१ अंक बाँडेका छन् । सिरिज अन्तरगत नेपालले आफ्नो तेस्रो म्याच मंगलबार ओमानसँग खेल्नेछ । त्यस्तै अन्तिम खेल त्यसको भोलीपल्ट अमेरिकासँग खेल्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...