ओमानसँग चुकेको नेपाल

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले नेपालका लागि ओमान पनि पटक–पटक बाधक बन्ने गरेको छ । यहि सम्भाव्यतालाई ओमानले बिहीबार राती पनि पूर्णता दियो ।

अमेरिकामा जारी आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत शुरु ट्राई सिरिजतर्फ नेपालले आफ्नो पहिलो खेलमा ओमानसँग १३ रनको झिनो अन्तरले पराजित हुन पुगेको छ । कुनै समय जित उन्मुखतर्फ अग्रसर नेपाल अन्तिम समयमा चुक्न पुग्यो ।

टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले ओमानलाई २११ रन बनाउन दियो । ओमानका लागि कप्तान समेत रहेका जिशन मकसुदले १०४ रनको नटआउट शतकीय पारी खेले । उनी प्लेयर अफ द म्याच समेत चुनिए ।

बलिङमा नेपालका लागि करन केसी एक्लैले ५ विकेटको हाउल लिए । त्यसबाहेक कप्तान सन्दिप लामिछानेले २ विकेट लिंदा सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

जवाफी लक्ष्य पछ्याएको नेपालले भने ४९.४ ओभरमा १९८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ६६ र देव खनालले ३४ रन बनाउनु बाहेक अन्य कुनै ब्याटसम्यानले ठोस रन बटुल्न सकेनन् ।

नेपालले सिरिज अन्तरगत दोस्रो खेल शनिबार आयोजक अमेरिकासँग खेल्नेछ । अमेरिकाले सिरिजको पहिलो खेलमा ओमानलाई ११४ रनको फराकिलो अन्तरले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...