अन्तिम खेलमा नेपालको जित

काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपको एसियाली छनौटतर्फ नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा जित हात पारेको छ ।

बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो । टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो । नेपालका लागि ओपनर अन्जली विश्वकर्माले ३३ रन बटुलिन भने आश्मा पुन मगरले २६ रनको योगदान दिईन् ।

जवाफी लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । घरेलु टोलीका लागि कप्तान एल्सा हण्टरले २८ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहारो अंक समेत छुन सकेनन् ।

बलिङतर्फ नेपालका लागि कृतिका मरासिनीले २ विकेट लिंदा मनिषा उपाध्यायले १ विकेट हात पारिन् । खेलमा अञ्जली विश्वकर्मा प्लेयर अफ द म्याच घोषित भईन् । यो जितसँगै छनौट प्रतियोगिताबाट बाहिरिसकेको नेपालले जितका साथ प्रतियोगिताको सुखद समापन गर्न भने सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...